विद्यालयको शैक्षिक र भौतिक विकासका निम्ति SIP को आवश्यकता



विद्यालयको शैक्षिक र भौतिक विकासका निम्ति SIP को आवश्यकता

शिवलाल थापा । विद्यालयको व्यवस्थापकिय कुशलतामा अभिवृद्धि गरी उपलब्ध स्रोत र साधनको सर्वोत्तम परिचालन गरेर उच्चतम प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले Better School, Better Teaching, Better Learning , Better input and Better output जस्ता पक्षहरुलाई समेटिएको गुणस्तर सुधार अभियानमा केन्द्रित ५ वर्षे आवधिक संस्थागत तहको सुक्ष्म योजना विद्यालय सुधार योजना हो । यो योजना शैक्षिक क्षेत्रमा विकेन्द्रिकृत शैक्षिक योजना अभ्यास अन्तर्गतको सुक्ष्म योजना भएको हुँदा यसलाई कार्यान्वयन तहमा निर्माण र प्रयोग गरिने साधनको रुपमा पनि लिइन्छ, जसलाई लक्षित नतिजा हासिल गर्न आन्तरिक क्षमता विकासका प्रयास र प्रक्रियालाई एकिकृत गरी निर्माण गरिन्छ । स्थानीय अभिभावक, शिक्षाप्रेमी, विद्यार्थीहरु, समाजसेवी तथा सरोकारवाला लगायतका ब्यक्तिहरुको संलग्नता र सक्रियतामा विद्यालयको सर्वाङ्गीन हित र विकास गर्ने दीर्घकालिन एवम् नियमित अभ्यास स्थापित गर्नु यस योजनाको मुख्य उद्देश्य मानिन्छ । विद्यालय हरेक समुदायको साझा सम्पदा भएकोले हरेक समुदायको सहायतावाट मात्र विद्यालयको पूर्ण विकास सम्भव छ भन्ने व्यवहारिक सिद्धान्तलाई विद्यालय सुधार योजनाले आत्मसाथ गर्दछ । 

नेपालमा शिक्षा योजनाको सुरुवात वि. सं. १९९३ मा तत्कालिन प्रधानमन्त्री जुद्धशम्शेरले शिक्षा वोर्डको गठन गरे पश्चात भएको मानिन्छ । शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर र उन्नतिका लागि नेपालको राजनीतिक परिवर्तन संगै वि. सं. २०११ सालमा नेपाल राष्ट्रिय शिक्षा योजना आयोग २०११ ले शैक्षिक क्षेत्रको खाका को¥यो । त्यसको लगत्तै वि. सं. २०१३ साल देखि यसै आयोग मार्फत योजना निर्माणको प्रक्रिया निरन्तर अगाडि वढेको पाइन्छ । यसरी विभिन्न समयमा निर्माण भएकमा योजनाहरु, ऐन, नियम साथै सरकारी तथा गैर सरकारी दुवै तहवाट विद्यालयको शैक्षिक र भौतिक सुधारका निम्ति आवश्यक योजनाको निर्माण हुँदै गर्दा २०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०३८ सालको सेती परियोजना, २०४३ सालको प्राथमिक शिक्षा परियोजना, २०४७ सालको आधारभूत तथा प्राथमिक परियोजना पहिलो र दोस्रो हुदै २०५६ साल देखि सरकारी स्तरवाटै शिक्षा नियमावलीमा व्यवस्था गरी स्थानीय र जिल्ला स्तरका विद्यालयसंग सम्वधित  केहि योजनाको विकास हुन थाल्यो । जसको उदाहरणको रुपमा विद्यालय सुधार योजनालाई लिन सकिन्छ । सन् २००२ देखि माध्यमिक शिक्षा परियोजनाको निर्माण भयो र वर्तमानमा यसलाई विस्तार गरी विद्यालय शिक्षा क्षेत्र सुधार योजनाको रुपमा २०६४ हाल कार्यान्वयनमा ल्याइएको अवस्था छ । 

शैक्षिक प्रणालीको सफलताका लागि समुदाय तथा विद्यालयहरु वीचको सकारात्मक सम्वन्धलाई आवश्यक पूर्वाधारको रुपमा शैक्षिक विकेन्द्रिकरणको प्रयास भए संगसंगै देशको वादलिदो राजनीतिक अवस्थावाट शिक्षा क्षेत्र पनि अछुतो रहन नसकी विद्यालय सुधार योजनाको निर्माण प्रक्रिया तथा आवश्यकता र महत्व पनि समय, परिस्थिति अनुसार फरक–फरक हुँदै गएको पाइन्छ । तर पनि विद्यार्थीको लगनशीलता वढाउन, शिक्षकलाई कार्यपरायण तथा कर्मशील वनाउन र अभिभावकको आशा र भरोसा जित्नका लागि विद्यालय भित्र उच्च कार्यसम्पादनको संस्कृति विकास गरी “मेहनत गर , अशल वन” (Work hard, be nice) को सिकाइ वातावरण तयार गर्ने उद्देश्यले पनि विद्यालय सुधार योजनाको आवश्यकता अनिवार्य मानिन्छ ।

विद्यालय सुधार योजनाको अवश्यकता

  • विद्यालयमा उपलब्ध सीमित स्रोत र साधनको अधिक्तम रुपमा प्रभावकारी प्रयोग गराउन ।
  • विद्यालयको सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणलाई प्रभावकारी वनाउन ।
  • विद्यालयमा सञ्चालन हुने हरेक क्रियाकलापमा समुदायको सकारात्मक सहभागिताको वृद्धि गराउन ।
  • शिक्षा क्षेत्रमा भएको विकेन्द्रिकरणलाई प्रभावकारी कार्यान्वयन गराउन ।
  • स्थानीय पाठ्क्रमको विकासमा सम्वन्धित सरोकालवालाको सक्रिय सहभागिता वढाउन ।
  • परिवर्तित राष्ट्रिय संरचना तथा निति अनुसार विद्यालयलार्ई सञ्चालन गर्न ।
  • विद्यालय सेवा क्षेत्रको अध्ययन गरी विद्यमान शैक्षिक अवस्थाको आवश्यकताको वोध गराउन ।
  • सेवा क्षेत्र भित्रका उमेर पुगेका वालवालिकालाई विद्यालयको पहुँचमा ल्याउन ।
  • स्तरीय शैक्षिक उत्पादनमा जोड दिन ।
  • विभिन्न निकाय वीचको अन्तरक्रियामा वृद्धि गर्ने ।
  • विद्यालयको मौजुता  शैक्षिक र भौतिक स्थितिको मूल्याङ्कन गरी भावी रणनीतिको तर्जुमा गर्न ।
  • विद्यालयको सर्वोत्तम हितका लागि समुदायको सकारात्मक सहभागितामा जोड दिन । 

शिवलाल थापा
स—प्रधानाध्यापक
शिवजन माध्यमिक विद्यालय
शीतलपाटी, सल्यान
 

प्रकाशित मिति : 2018-07-15 09:29:40

Notice

News & Events

Academic Program

Faculty Member

© Copyrights 2025 SHIVA JAN SECONDARY SCHOOl All Rights Reserved.

Design & Developed by : Suresh Khadka